सहरको कोलाहल र प्रदुषित वातावरणबाट केही क्षण भए पनि आराम पाउन कुनै दिन राजधानी नजिकै प्राकृतिक छटाले भरिपूर्ण ठाउँ चिसापानी जाने सोच थियो । शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मुहानपोखरीबाट चिसापानी चार घन्टाजतिको पैदलमा पुग्न सकिन्छ भन्ने कतैबाट सुनियो । यात्राको रमाइलो भन्नु पदयात्रामै हुन्छ, यसैले पैदलै चार घन्टा शिवपुरी जङ्गल छिचोल्दै चिसापानी पुग्ने योजनासहित लैनचौरबाट माइक्रो बस चढियो ।
गंगालाल अस्पताल, नारायणथान हुँदै विपश्यना ध्यान हुने गुम्बाको थुम्कोमा माइक्रोले पुर्यायो । साथमा थिए अफिसकै एकजना सहकर्मी । चिसापानीसम्मको पहिलो यात्रा, पदयात्रा मार्ग कताबाट हो भन्ने राम्रोसँग पत्तो हुने कुरै भएन । चिसापानी पदयात्रा सुन्दरीजलबाट सुरु गर्नुपर्नेमा कहाँको शिवपुरी मुहानपोखरीबाट लामो बाटो ताक्न आइपुगिएछ । अरूले दिएको जानकारीको भर पर्दा दु:ख पाइयो । सुन्दरीजलबाट चिसापानी पुग्न तीन-चार घन्टा लाग्छ भन्ने सुनिएको थियो यसअघि जाने साथीहरूबाट । तर मुहानपोखरीबाट सुन्दरीजल पुग्नै साढे १२ किलोमिटरको दूरी रहेछ । कहिले पुग्ने सुन्दरीजल, कहिले भेट्ने चिसापानी ? यस हिसाबले आज चिसापानी पुगेर चिसो मौसममा ज्यानलाई शीतल चखाउँदै मजाले ढिंडो खाने सपना त्यत्तिकै तुहियो भन्ने लाग्यो । बिहानको अफिस भ्याएर हिँडेको, दिउँसोको तीन बजिसकेको थियो । तैपनि यात्रामा जुटि त हालियो, यत्तिकै छाड्ने कुरै थिएन ।
आज सुन्दरीजल बास बसेर भोलि पुगौं न त चिसापानी भन्ने धोकोले घुँडा खियाइयो । आज सुन्दरीजल मात्र पुग्नुपर्ने भएपछि आनन्दले यात्राको अंशअंशको स्वाद लिंदै फोटो खिच्दै, नागबेली बाटोमा लरबरे तालले हल्लिँदै हिँडियो । वसन्तको याम, लालीगुँरासले छपक्कै ढाकेको छ जंगल । ग्राभेल नगरिएको बाटो भए पनि गाडी नै गुड्न सक्ने खुला थियो सडक । डाँडाबाट फेदीतिर हेर्दा देखिने काठमाडौं उपत्यकाको दृष्यावलोकनलाई हलुका तुवालोले पर्दा हाले पनि आँखा च्यातेरै साङ्ला जस्ता घर र भुसुना जस्ता आकारका मान्छेहरूको दृश्य कुनै चित्रकारको क्यानभास जस्तै लाग्यो । लालीगुराँस डाँडाभरि जगमगाएको दृश्य ताराहरू टिलपिलाएको आकाशभन्दा कम उज्यालो थिएन । जंगलमा हरियो पालुवाको लुगा लगाएका बोटबुट्यान पनि क्वाप्पै निलिहालूँ जस्तो लोभलाग्दो !
लालीगुराँसलाई फोटोमा कैद गर्दै, दृश्यपानबाट मनभरि गाढा हुने गरी निचोरेर मात्र मन कहाँ अघाउनु ? बाटो छेउछाउ नै ‘आऊ, मलाई अँगाल भने झैं लाम लागेर बसेका ऐँसेलुको झ्याङ र काफलका बोटहरूले भुल्याउनुसम्म भुल्याए । ओसिलो खोल्सामा बगेको तुरतुरे पानीले घाँटी भिजाउँदा प्रकृतिलाई हदै भोग्नमा सफल भएँ जस्तो लाग्नु स्वाभाविकै थियो । गुराँसको रङले भने लगभग झमक्क साँझ पर्दा सुन्दरीजल पुगने बेलासम्म पनि छाडेको थिएन । अलि माथ्लो थुम्कामा गुराँस, तल्लो डालीमा गुराँस ! आहा, मेरो देशको राष्ट्रिय फूल यत्तिकै भएको होइन भन्ने लाग्यो । यही राताम्मे मादकताले हाम्रो शरीरको रगतको नली पनि भरिएको हो कि जस्तो काल्पनिकीमा लहरिएँ । तर चार-साढे चार घन्टाको एकोहोरो हिंडाइले ज्यान थिलथिलो भएपछि भोलिपल्ट थप तीन-चार घन्टाको चिसापानी यात्रा रद्द गरियो ।
त्यही पदयात्रामा खिचेका तस्विर यसपटक बाँड्दैछु ब्लगमार्फत :
पाखाभरि रातो झन्डा लिएर बसेका आन्दोलनकारी जस्तै गुराँसै गुराँस
गुराँसलाई नजिकबाट पहिलोचोटि यसरी नियाल्न पाइएको थियो
हेर्न मात्र होइन, छुनै पाउँदा झन् कति शीतल अनुभूति भयो होला !
ऐंसेलु कुपुक्कै : ऐंसेलुको यस्तो झ्याङले बाटोभरि निकै समय अल्झाइरह्यो
सुन्दरीजल पुग्ने हतारमा ओरालो झर्दा चारकोसे झाडीको जङ्गल बीचमा यस्तै अँध्यारोले घेरिरह्यो